दफा ४०६
दान वा बकस भएको मानिने

(१) कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वको सम्पत्ति कुनै व्यक्तिलाई वा धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यको लागि निःशुल्क रूपमा दिने कार्यलाई दान मानिनेछ ।
(२) कुनै व्यक्तिले आफूलाई पालनपोषण गरी वा अन्य तवरले रिझाए वापत वा पारिवारिक स्नेह वा अनुरागको कारण आफ्नो हक र स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिसको रूपमा त्यस्तो व्यक्तिलाई निःशुल्क रूपमा दिने कार्यलाई बकस मानिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम दान वा बकस दिँदा दान वा वकस दिनासाथ वा कुनै निश्चित अवधि पछि वा दान वा वकसपत्र दिने व्यक्तिको मृत्यु पछि प्रभावकारी हुने गरी दान वा बकस दिन सकिनेछ ।
(४) उपदफा (३) बमोजिम दान वा वकस दिने व्यक्तिको मृत्यु पछि मात्र दान वा बकस प्रभावकारी हुने भएमा निजले शेष पछिको दान वा शेषपछिको बकस दिएको मानिनेछ ।